नेकपा बहुमतले चुनावमा भाग नलिने

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग नलिने जनाएको छ ।

पार्टीको कर्णाली ब्यूरोले आईतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रबक्ता हेमन्तप्रकाश ओली (सुदर्शन) ले सरकारले घोषणा गरेको निर्वाचनको पार्टीले भण्डाफोर गर्ने बताए ।
पार्टीले समाजवादी क्रान्तिको बाटो लिएकाले निर्वाचनमा भाग नलिने बताउँदै उनले निर्वाचनको भण्डाफोर अभियान अन्तर्गत जनतालाई भोट नहाल्न सचेत बनाउने र उम्मेदवारी नदिन शान्तिपूर्णरुपमा आग्रह गरिने जानकारी दिए । हालकोे संसदीय ब्यवस्थाले देशमा भ्रष्टाचार मात्रै बढाएको भन्दै उनले निर्वाचनबाट जनताका समस्याको समाधान नहुने बताए । ‘हाम्रो लक्ष्य बैज्ञानिक समाजवाद हो, चुनाववाट जनताका समस्या समाधान हुदैनन’ उनले भने ‘बैज्ञानिक समाजवाद संसदीय चुनाववाट नआउने भएकोले क्रान्तिवाट मात्र लक्ष्य पुरा हुन्छ ।’
अहिलेको ब्यवस्था अन्तर्गत बन्ने सरकार पराधिन बन्ने भन्दै उनले स्वाधिन सरकार निर्माणका लागि मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसंग प्रकृया अघि बढेको र  सम्पूर्ण वामपन्थी, देशभक्ती र अन्य शक्तिलाई आव्हान गरिएको बताए ।