महेन्द्र पुस्तकालयले भाद्र तीन गते अमृत महोत्सव मनाउने

नेपालगञ्ज : नेपालगञ्जको ऐतिहासीक महेन्द्र पुस्तकालयले अमृत महोत्सव मनाउने भएको छ । पुस्तकालय ७५ वर्ष पुरा गरी ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा अमृत बर्षको ऐतिहासिकतालाई स्वर्णिम राख्नका लागि भदौ तीन गते अमृत महोत्सव मनाउने भएको हो ।
महोत्सववारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले महोत्सवका अवसरमा निबन्ध प्रतियोगिता, बाहुभाषिक कवि गोष्ठी, वाङमय जगत अमृत महोत्सव स्मारिका प्रकाशित गरिने जानकारी दिए । सो अवसरमा पुस्तकालयले स्थापनाकाल देखि २०५४ सालको कार्यसमिति सम्म पुस्तकालय कार्यसमितिका सदस्य तथा कर्मचारीहरुलाई अमृत महोत्सव पदकसहित सम्मान गरिने तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीले बताए ।
वि.सं. २००३ सालमा नेपालगन्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय पछि महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी संचालित अवस्थामा रहेको छ । समितिको पुर्णताका लागि भाद्र २९ गते निर्वाचन गर्ने निर्णय गरीएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।