७५ वर्ष पुगेको अवसरमा महेन्द्र पुस्तकालयले मनायो अमृत महोत्सव

नेपालगन्ज : स्थापनाको ७५ वर्ष पार गरेको अवसरमा नेपालगन्जको महेन्द्र पुस्तकालयले अमृत महोत्सव आयोजना गरेको छ । शुक्रबार पुस्तकालयमा आयोजित महोत्सव समारोहमा विभिन्न कार्यक्रमका साथै पुस्तकालयले स्थापनाकालदेखि योगदान पु-याउने व्यक्तिहरुलाई पदकसहित सम्मान गरेको थियो ।
प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले कार्यक्रममा पुस्तकालयको स्तरोन्नतिका लागि आफ्नो व्यक्तिगत तर्फबाट तत्काल ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । महेन्द्र पुस्तकालय नेपालगन्जको धरोहर रहेको बताउँदै मन्त्री राईले यसको विकास र संरक्षणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पुस्तकालयका तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्वमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभाका सांसदद्वय आइपी खरेल र कृष्णा केसी नमूना लगायतले सम्बोधन गरेका थिए । वि.सं. २००३ सालमा नेपालगन्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालयको नाम पछि महेन्द्र पुस्तकालय राखिएको थियो । लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरेर सञ्चालन गरिएको छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचनबाट नयाँ समिति चयन गरिने बताइएको छ ।