दमकल सेवाको अवस्थाबारे सरोकारकारवालाबीच छलफल

नेपालगन्ज : बाँकेमा दमकल र जनशक्तिको अभावमा अग्नी नियन्त्रणको काम प्रभावकारी बनाउन समस्या रहेको एक कार्यक्रमका सहभागीले औल्याएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा युरोपियन युनियनको आर्थिक सहयोग र युनिसेफ नेपालको साझेदारीमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर परियोजना)ले सोमबार नेपालगन्जमा अग्नी नियन्त्रण उपकरण, जनशक्ति तथा सेवा प्रवाह सम्बन्धमा सरोकारवालासँगको समन्वयात्मक बैठक तथा क्षमता विश्लेषण कार्यक्रममा सरोकारवालाले यस्तो समस्या दर्शाएका हुन् । नेपालगन्जमा ३, कोहलपुर र नरैनापुरमा एक एक वटा मात्र दमकल छन् । अग्नी नियन्त्रणका लागि अझै पनि दमकल पर्याप्त नभएको, भएका दमकलमा पनि आवश्यता अनुसारको जनशक्तिको अभाव भएको बताइएको थियो । सो अवसरमा सहभागीबीच नेपालगन्जमा अग्नी नियन्त्रणका असल अभ्यास, अग्नी नियन्त्रणमा स्रोत तथा जनशक्ति परिचालनको अवस्था, अग्नी नियन्त्रणका चुनौती र कठिनाइ र सरोकारवालाको भूमिका विषयमा समूह छलफल गरिएको थियो ।
कार्यक्रममा सुपर परियोजनाका शिव सुवेदी र नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा विपद् व्यवस्थापनमा खटिने दमकल सेवाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नगरको विपद् व्यवस्थापन शाखाका कर्मचारी, रेडक्रसकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।