३९ बिमा कम्पनीका म्यानेजरलाई एकैथलोमा प्रशिक्षण

वीरेन्द्रनगर (सुर्खेत) : नेपालका ३९ वटै बिमा कम्पनीका कर्णाली प्रदेश कार्यालय, शाखा कार्यालय र सिनियर एजेन्सी म्यानेजर गरी एक सयभन्दा बढीलाई पहिलो पटक बिमा प्रशिक्षण दिइएको छ ।
बिमा क्षेत्रको नियामक निकाय बिमा समिति कर्णाली प्रदेश कार्यालयले इन्स्योरेन्स इन्स्टिच्युट नेपाल प्रालिसँग सहकार्य गरेर १९ वटा जीवन बिमा कम्पनीका सिनियर एजेन्सी म्यानेजरलाई ३ दिने (भदौ ३–५) र २० वटा निर्जिवन बिमा कम्पनीका सिनियर एजेन्सी म्यानेजरलाई दुई दिने (भदौ ६–७) बिमाबारे प्रशिक्षण दिइएको हो ।
बिमा समिति कर्णाली प्रदेश प्रमुख निर्देशक पदमप्रसाद सोडारीको नेतृत्वमा सञ्चालित तालिममा इन्स्योरेन्स इन्स्टिच्युट नेपाल प्रा.लि.का संयोजक गणेश शर्मा, रामबहादुर शाही, ध्वजबहादुर खड्का, तिलबहादुर वलीले सहजीकरण गरेका थिए । निर्देशक सोडारीले बिमाको पहुँच नेपालका दूरदराजमा पुर्याउन आग्रह गरे । उनले भने, ‘अहिलेसम्म कर्णाली प्रदेशका ४ प्रतिशत जनताले मात्र जीवन बिमा गरेका छन् । यसलाई २ वर्षभित्र १० प्रतिशत पु–याउने लक्ष्यमा सक्रिय भएर लाग्नुस् ।’ जीवन बिमाको क्षेत्रमा कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लामा कार्यरत ७० जना सिनिएर एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
१७ वर्षदेखि बिमा क्षेत्रमा क्रियाशील नेशनल लाइफ इन्स्योरेन्सका सिनियर चिफ बिजनेश म्यानेजर गंगा शर्मा पराजुलीले बिमा समितिको इतिहासमै पहिलो पटक सबै बिमा कम्पनीका सिनियर एजेन्सी म्यानेजरलाई एकैथलोेमा राखेर बिमा अभिमुखीकरण गरिएको भन्दै खुसी ब्यक्त गरिन् । पराजुलीले ४ हजार दुई सय जनालाई बिमाको पहुँचमा ल्याउन सफल भएकी छन् । ‘बिमा व्यवसाय सामाजिक तथा देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ’, उनी भन्छिन्, ‘देशमा छरिएको पूँजीलाई संकलन गरी देश निर्माणमा महत्वपूर्ण भूमिका निर्र्वाह गर्नुका साथै बिमित तथा उनको परिवारलाई सुरक्षा दिने यो अत्यन्तै असल काम हो । सबैले जीवन बिमा गर्न जरुरी छ ।’ उनले समितिको पहिलो प्रयास अत्यन्तै राम्रोे भएको प्रतिक्रिया दिँदै बिमा सम्बन्धी एड्भान्स तालिम दिनुपर्ने बिमा समितिसँग माग गर्छिन् । नेपाल सरकारको सेवा निबृत्त भइ बिमा अभिकर्ताका रुपमा कार्यरत भक्तबहादुर कार्कीले पनि तालिमबाट हौसला मिलेको बताए । उनले यस्ता तालिमबाट जीवन बिमा व्यवसाय अझै स्वच्छ र पारदर्शी हुने विश्वास व्यक्त गरे ।


त्यसैगरी बिमा समिति कर्णाली प्रदेशले सोमबार र मंगलबार दुई दिन निर्जिवन बिमा कम्पनीका कर्णाली प्रदेश कार्यालय र शाखा कार्यालय प्रमुखलाई पनि जोखिमाङ्क तथा नेतृत्व विकास तालिम दिएको छ । बिमा समिति कर्णाली प्रदेश प्रमुख निर्देशक पदमप्रसाद सोडारी, नेपाल इन्स्योरेन्स कम्पनीका सिइयो वीरकृष्ण महर्जन र आइएमइ इन्स्योरेन्सका अण्डरराइटिङ हेड प्रतिभा मिश्रले सहजीकरण गरेका थिए ।