डब्लुडब्लुजेद्वारा महिला पत्रकारसँग तीज मिलन कार्यक्रम

नेपालगन्ज : क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँके शाखाले महिला पत्रकारसँग तीज मिलन कार्यक्रम गरेको छ । बुधबार दिउँसो नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा डब्लुडब्लुजेले जिल्लामा क्रियाशील महिला पत्रकारबीच तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अथिति प्रदेशसभा सदस्य कृष्ण केसी नमूनाले अझै पनि समाजमा महिला समानता स्थापित हुन नसकेको बताइन् । विगतमा थिचोमिचोमा परेका महिलाहरुले गीतका माध्यमबाट आफ्ना पीडा अभिब्यक्त गर्ने गरेको स्मरण गर्दै उनले अझै पनि दूरदराजको ग्रामीण भेगका महिलाले आफूमाथि भइरहेको विभेदबारे बोल्न नसकिरहेको यर्थाथता दर्शाइन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापाले तीज पर्वलाई महिला स्वतन्त्रता र सशक्तिकरणको पर्वको रुपमा मनाउनु पर्ने बताइन् । डब्लुडब्लुजे बाँके शाखाका कार्यबाहक अध्यक्ष सावित्री गिरीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष नीरज गौतम, डब्लुडब्लुजेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, संस्थाकी निवर्तमान अध्यक्ष अमृता केसी, साहित्यकार ऋचा लुइँटेलले तीजकोे महत्वबारे धारणा राखेका थिए । औपचारिक कार्यक्रम सकिएपछि महिला पत्रकारहरु तीजको गीतमा नृत्य गरेर रमाएका थिए । डब्लुडब्लुजेले महिला पत्रकारलाई दर पनि खुवाएको थियो ।