नेकपा (एस) बाँकेले संघमा दलबहादुर र प्रदेशमा कोइरालाको एकल नाम किन सिफारिस गरेन ?

नेपालगन्ज : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचन–२०७९ मा चर्चामा आएको कुरा साँचो ठहरिए विगतको जितको आधारमा पनि सत्तागठबन्धनको भागवण्डामा बाँके क्षेत्र नं. १ मा माओवादी केन्द्र, क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी र क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको भाग पर्ने बताइएको छ । नेकपा एकीकृत समाजवादीले विगतमा एमालेले जितेको क्षेत्र भएकाले क्षेत्र नं. ३ मा दाबी गर्न स्वभाविक छ । सत्ताधारी दलबीच चुनावी गठबन्धनमा सहमति भइसकेको छ । क्षेत्रगत भागवण्डा गर्न मात्र बाँकी छ । नेकपा एसले बाँके ३ बाट टिकट पाउँदा पनि पूर्वमन्त्री दलबहादुर सुनार पार्टीको एकल सिफारिसमा परेनन् ।
बाँके–३ मा कुनै बेला कम्युनिष्ट नेता सुनारलाई ‘जननेता’ जस्तै मानिन्थ्यो । माउ पार्टी नेकपा एमालेमा हुँदा पनि उनी टिकटको एक्लो हकदार जस्तै हुन्थे । साबिकको बाँके क्षेत्र नं. ४ बाट चुनाव जितेर उनी सिँचाइ राज्य मन्त्री पनि बने । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा छन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले बाँके–३ बाट पार्टीले उनीसँगै होमनाथ सापकोटा र लक्ष्मी सिंह ठकुरीको नाम पनि सिफारिस गरेको छ ।
त्यसो त, एमाले जिल्ला अध्यक्षको हुँदा खाँदाको पद छोडेर नेकपा एसमा गएका अशोक कोइरालाको नाम पनि पार्टीले प्रदेशसभा सदस्यमा एकल सिफारिस गरेन । प्रदेशसभा सदस्यमा बाँके क्षेत्र नं. १ ख मा पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज कोइरालासँगै अव्दुल हुसेन खाँ र केशकुमारी भुसालको नाम सिफारिस गरिएको छ । विद्यार्थी राजनीतिबाट उदाएका खाँ पनि पार्टीमा केन्द्रीय सदस्य छन् । उनी पनि एकल सिफारिसमा पर्ने हक राख्छन् । कोइरालासँगै उनको नाम जुधाएर सिफारिस भएको छ । नेता कोइरालाले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर कोइरालाले सर्वसम्मत रुपमा जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरिएको बताएका थिए ।

यो पार्टीबाट जिल्लामा एकmल सिफारिसको हैसियत राख्ने अर्का नेता हुन, दीपक जीएम । युवा संघको केन्द्रीय पदाधिकारीमा रहेर जिल्लामा पार्टी सचिवको पदमा रहेका जीएमलाई पनि प्रदेशसभा सदस्य बाँके क्षेत्र नं. ३ क भगवती शाह र मनकुमारी चन्दसँगै नाम सिफारिस गरिएको छ । प्रदेश सभा सदस्य ख मा भने सबैभन्दा धेरै इन्द्रबहादुर थापा, लालबहादुर खत्री, भद्रप्रसाद देवकोटा र रुपा रावल ४ जनाको नाम सिफारिस गरिएको छ । खेलकुद पृष्ठभूमिका समसुद्दिन सिद्धिकी र विनोद मैनाली पनि एकल सिफारिसको हैसियत राख्ने नेतामा पर्छन् । यी दुबैका पछाडि पनि अरु दुई दुई जना नेता झुन्डिएका छन् । बाँकेका पाका नेता महेन्द्रराज शर्मा पनि अवसर नपाएका नेतामै गनिन्छन् । उनी पनि सर्वमान्य हुन सकेनन् ।
पार्टीले बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि यमबहादुर आले, इतवारी थारु र मञ्जु कोइरालाको नाम सिफारिस गरेको छ । बाँके क्षेत्र नं. १ प्रदेशसभा क मा केशवराम यादव, रामकृष्ण विक र प्रेमिका शाहीको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट संघमा विनोद मैनाली, महेन्द्रराज शर्मा र अव्दुल जव्बार मन्जरी तथा प्रदेश क मा लक्ष्मणप्रसाद गौतम, सुनिता वर्मा र शान्ता थपलियाको नाम सिफारिस गरेको छ । प्रदेश ख मा समसुद्दिन सिद्दिकी, करिश्माकुमारी योगी र डम्बरबहादुर थापाको नाम सिफारिस गरेको कोइरालाले जानकारी दिए ।
सत्तागठबन्धनमा भागवण्डामा नपर्दा स्वतः टिकट नपाउने हुनसक्ने भए पनि पार्टीकै सिफारिसमा दलबहादुर सुनार, अशोक कोइराला, अब्दुल हुसेन खाँ, दीपक जीएम, महेन्द्रराज शर्मा, समसुद्दिन सिद्दिकी, विनोद मैनालीको नाम किन एकल रुपमा सर्वसम्मत् सिफारिस भएन भन्ने आमजिज्ञासा छ ।