सुख्खाग्रस्त नरैनापुरको अवलोकनमा अर्थमन्त्री प्रभाकर (फोटो फिचरसहित)

सुख्खाग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अवलोकनमा जाँदै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर । तस्बिरहरु : शंकरप्रसाद खनाल

नेपालगन्ज : संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाँकेको सुख्खाग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अवलोकन गरेका छन् ।
सुर्खेतको एक कार्यक्रमबाट काठमाडौं फर्किने क्रममा शुक्रबार बिहान नेपालगन्ज पुगेका अर्थमन्त्री प्रभाकरले अपरान्हतिर नरैनापुर क्षेत्रमा पुगेका थिए । उनले सिँचाइको अभावमा किसानका बाँझा रहेका खेत र उनले भारतबाट निर्मित बाँध जस्तै सडकको पनि अवलोकन गरेका थिए । वर्षाको पानीको भरमा खेती हुने नरैनापुरमा पानी नपर्दा भदौको झन्डै तेस्रो सानासम्म पनि १५ प्रतिशत मात्र रोपाइँ भएको छ ।प्रदेशसभा सदस्य कृष्णा केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपाल प्रहरीका बाँके प्रमुख श्यामकृष्ण अधिकारीलगायत सम्मिलित अवलोकनको क्रममा मन्त्री प्रभाकरले प्रजिअ खत्रीलाई नरैनापुरका किसानलाई तत्काल राहातका लागि गृह मन्त्रालयको आपतकालीन केन्द्रलाई पत्राचार गर्न निर्देशन दिएका थिए । त्यसैगरी नरैनापुर गाउँपालिकालाई सिँचाइका लागि आवश्यक पर्ने डिप बोरिङका लागि सिँचाइ मन्त्रालयमा पत्राचार गर्न आग्रह गरेका थिए ।

अर्थमन्त्री प्रभाकरलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत र सम्मान गरेका थिए । अर्थमन्त्री ‘प्रभाकर’ले सुख्खाग्रस्त क्षेत्रका किसानलाई तत्काल राहातका लागि प्रधानमन्त्री र मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए । उनले भने, ‘नरैनापुरवासीलाई म भोकै मर्र्न दिन्न । राहातको व्यवस्था गर्र्छु ।’

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले सुख्खा क्षेत्र नरैनापुरका किसानलाई सरकारले अल्पकालीन र दीर्घकालीन राहातको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । ‘हामीले अर्थमन्त्रीलाई वैकल्पिक खेतीका लागि सिँचाइ गर्न डिप बोरिङ माग गर्दै ज्ञापन पत्र बुझाएका छौं’, उनको भनाइ थियो, ‘अनिकाल पर्ने सम्भावना भएकाले किसानलाई तत्काल राहातको आवश्यकता छ ।’

अर्थमन्त्री प्रभाकरले राप्तीसोनारी गाउँपालिकामा रहेका जनयुद्धका शहीद तथा बेपत्ता परिवारसँग पनि भेटघाट गरेका थिए । उनले सरकारले शान्ति प्रक्रियाका अधुरा काम पूरा गर्न, सशस्त्र द्वन्द्वका पीडितलाई राहात दिन ऐन, कानुन संशोधन गरिरहेको बताएका थिए । अर्थमन्त्री प्रभाकर शुक्रबार साँझ नै काठमाडौं फर्किएका छन् ।