नाथम कलेज सञ्चालनमा सहयोग माग्दै बाँकेका पर्यटन व्यवसायीले बुझाए मन्त्री राईलाई ज्ञापन पत्र

नाथम कलेजको भौतिक पूर्वाधार निर्माणमा सघाउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई ज्ञापन पत्र बुझाउँदै बाँकेका पर्यटन व्यवसायीको तर्फबाट नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल

नेपालगन्ज : पर्यटन तथा होटल व्यवस्थापन अध्ययन प्रतिष्ठान नेपाल (नाथम)को कलेज सञ्चालनमा सहयोग माग्दै बाँकेका पर्यटन व्यवसायीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई ज्ञापन पत्र बुझाएका छन् ।
नाथम कलेज स्थापनाबारे नाट्टा बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री राईलाई पर्यटन व्यवसायीको तर्फबाट नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले ज्ञापन पत्र बुझाएका हुन् ।
अध्यक्ष सिग्देलले चालु आर्थिक वर्षदेखि नै कक्षा सञ्चालनको तयारी भए पनि मन्त्रालयले बजेट नदिँदा पढाइ हुन सकेको बताए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन क्षेत्रका लागि योग्य जनशक्ति उत्पादनका लागि नाथम कलेज नेपालगन्जमा सञ्चालन गर्न साढे २ वर्षदेखि पहल सुरु गरिएको थियो ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली पनि सरकारले बजेट नदिँदा भौतिक पूर्वाधार निर्माण नभएर नाथम कलेज सञ्चालन नहुनुलाई दुःखद भएको बताए । उनले भने, ‘कलेजका लागि जग्गा प्राप्त भइसकेको छ । भौतिक पूर्वाधार निर्माण गर्न बजेटको अभाव छ । सरकारले तुरुन्त बजेटको व्यवस्था गरोस् । यही हाम्रो माग हो ।’
नाट्टाका निवर्तमान केन्द्रीय अध्यक्ष अच्युत गुरागाई र नाथमका केन्द्रीय प्रिन्सिपल रामकैलाश विच्छाले नाथम कलेज सञ्चालन भए पश्चिम नेपालका होटल र पर्यटकीय क्षेत्रमा गुणस्तरीय सेवा मिल्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पश्चिममा पर्यटन क्षेत्रको गुणात्मक विकासका लागि पनि नाथम कलेज सञ्चालन हुन आवश्यक रहेको बताए । उनको जोड थियो, ‘यो बहुपयोगी छ । बहुआवश्यक छ । मेरो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भए पनि जिल्लावासीको नाताले कलेज स्थापनामा मेरो पहल हुनेछ ।’