नेपालगन्जका सामुदायिक विद्यालयमा लामो समयपछि दरबन्दी मिलान

नेपालगन्ज : शिक्षा सुधार योजना अन्तगर्त बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले लामो समयपछि साुमदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान गरी पदस्थापन गरेको छ । नगर शिक्षा समितिको निर्णयका आधारमा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७८ अनुसार सामुदायिक विद्यालयहरुमा ४८ जना शिक्षकको दरबन्दी मिलान गरीएको हो । जसअनुसार उपमहानगरपालिका भित्रका मा.वि तहका ११ जना, नि.मा.वि तहका ९ र प्राविका २८ शिक्षकहरुको दरबन्दी मिलान गरी पदस्थापन गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए । ‘विभिन्न विद्यालय ४८ जना शिक्षकको दरबन्दी मिलान गरी पदस्थापन गरिएको छ’ उनले भने ‘विद्यार्थी संख्या न्युन भएका तीन वटा विद्यालयहरुको तह घटाईएको छ ।’
दरबन्दी मिलान तथा कक्षा समायोजनले विद्यार्थीको शैक्षिक सुधार हुनुका साथै विद्यालयको आवश्यक्ता अनुसार शिक्षकलाई नयाँ विद्यालयको अनुभव दिनेगरी परिचालन र विद्यालयको नेतृत्व व्यवस्थापन गर्ने गरी समग्र शैक्षिक वातावरणमा सुधार आओस भन्ने अपेक्षा राखीएको उनको भनाई छ ।
नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयमा पाँच बर्ष देखि शैक्षिक दरबन्दी मिलान हुन सकेको थिएन । गत बैशाखमा भएको निर्वाचनवाट दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व आएसंगै शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै प्रत्यक बर्ष दरबन्दी मिलान गर्न सकियो भने पनि यसले शिक्षाको गुणस्तर सुधारमा मद्यत मिल्छ भन्ने अपेक्षाका साथ दरबन्दी मिलान गरी पदस्थापन गरिएको मेयर प्रशान्त विष्टले बताए ।
साविक जिल्ला शिक्षा कार्यालयले २०७४ सालमा दरबन्दी मिलान गरेपनि स्थानीयतह संचालनमा आएपछि नेपालगन्जका सामुदायिक विद्यालयमा दरबन्दी मिलान हुन सकेको थिएन । दरबन्दी मिलानका क्रममा सरुवा भएका शिक्षकहरु असोज १ गतेभित्र तोकिएको कार्यस्थलमा गईसक्नु पर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ । उक्त निर्णय अटेर गरी तोकिएको समयभित्र कार्यस्थलमा नजाने शिक्षकहरुको उपमहानगरपालिकाले शिक्षा ऐन, नियमावली बमोजिम विभागिय कार्वाही, कार्वाहीका लागि सिफारीस गर्नुका साथै सेवा सुविधा रोक्का गरीने जनाएको छ ।