नेपालगन्जका ३ सामुदायिक विद्यालयको तह घटाइयो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले तीन वटा सामुदायिक विद्यालयहरुको तह घटाएको छ । नगर शिक्षा समितिको गत २१ भदौको निर्णय अनुसार विद्यार्थी संख्या न्यून भएका उपमहानगरपालिकाभित्रका तीन वटा विद्यालयको तह घटाइएको हो । नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र शाहीका अनुसार नेपालगन्ज १५ सुइयास्थित कक्षा ८ सम्म सञ्चालित नेरा आधारभूत विद्यालयलाई कक्षा १ देखि ५ सम्म मात्र सञ्चालन हुने गरी तह घटाइएको छ भने नेरा आधारभूत विद्यालय रानीतलाउ र श्री भवानी नेरा आधारभूत विद्यालय मदनापुरलाई १ देखि ३ कक्षासम्म मात्र सञ्चालन हुने गरी तह घटाइएको छ । यसअघि यी दुबै विद्यालय १ देखि ५ कक्षासम्म सञ्चालित थिए ।
शिक्षा सुधार योजना अन्तगर्त उपमहानगरपालिका शिक्षा शाखाले लामो समयपछि सामुदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान समेत गरेको छ । शिक्षक दरबन्दी मिलान कार्यविधि २०७८ अनुसार उपमहानगरपालिकाभित्रका साुमदायिक विद्यालयका ४८ जना शिक्षकको दरबन्दी मिलान गरिएको शाहीले बताए ।