कोहलपुरका स्वास्थ्य संस्थाको सेवा सुर्धान वास पैरवी कार्यशाला

नेपालगन्ज : गेरुवा ग्रामीण जागरण संघ, बर्दियाले कोहलपुर नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) पैरवी कार्यशाला गरेको छ ।
नगरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा सोमबार आयोजना गरिएको वास पैरवी कार्यशालामा नगरका लक्षित ६ वटा स्वास्थ्य संस्थामा दोस्रो चरणको खानेपानी सरसफाइ तथा स्वच्छता (वास) लेखाजोखाबाट पत्ता लागेका बुँदाहरु र स्थानीय सरकारले मापदण्डअनुरुप स्वास्थ्य संस्थाहरु सञ्चालन गर्न चाल्नु पर्ने कदमहरुबारे गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीले प्रकाश पारेका थिए ।
यहाँका स्वास्थ्य संस्थाहरुको पहिलो लेखाजोखाको तुलनामा २४ प्रतिशत थप मापदण्डहरु पूरा गरेको जानकारी दिइएको थियो । हाल परियोजना लक्षित स्वास्थ्य संस्थाहरुले औसतमा ५१ प्रतिशत मापदण्ड पूरा गरेर सेवा दिइरहेका छन् । नगरका स्वास्थ्य संस्थाहरुमध्ये रानीघाट आधारभूत स्वास्थ्य सेवा केन्द्रले सबैभन्दा कम मापदण्ड पूरा गरेको छ भने शम्शेरगन्ज स्वास्थ्य चौकीले सबैभन्दा बढी मापदण्ड पूरा गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले खानेपानी सरसफाई तथा स्वच्छताको सुधारका लागि आफ्नो टिम सकारात्मक भएको बताएका थिए । प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले स्वास्थ्य संस्थाहरुमा वासफिट प्रक्रियालाई नियमित गर्न प्रस्तुत गरिएको खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुधारका लागि वास फिट समितिको जिम्मेवारी सम्बन्धी कार्यविधि, २०७९ मा रचनात्मक सुझाव दिएका थिए । वास इन हेल्थ परियोजना लागू भएका वडाका वडा अध्यक्ष, वडाका स्वास्थ्य संस्थाका प्रमुख, पालिका स्वास्थ्य शाखा प्रमुख, गेरुवाका अध्यक्ष कृष्णजंग शाह र वास एलायन्स इन्टरनेशनलका साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।