जयेन्दु बाल सुधार गृहको नयाँ भवन उद्घाटन

आसमानपुर : बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहको नवनिर्मित तीन तले भवनको उद्घाटन गरिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार बाल सुधार गृहको तीन तले भवनको उद्घाटन गरेकी हुन् । दुई करोड एक लाख रुपैयाँमा निर्माण गरिएको हो । कार्यक्रममा मन्त्री रेग्मीले बाल सुधार गृहका लागि आवश्यक पर्ने बजेट र थप पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइन् ।

बाल सुधार गृहका लागि जग्गा उपलब्ध गराउन पहल गर्ने मन्त्रालयका पूर्वमन्त्री सर्वदेव ओझाले पनि बाल सुधार गृहका लागि राज्यले सधैं सहयोगी भावना हुनुपर्नेमा जोड दिएका थिए । बाल सुधार गृहको समस्या र जग्गादाता जयकेश सिंहले आफ्नो संघर्षमय विगतबारे सुन्दा निकै भावुक हुँदै आँसु झारेका महिला तथा बालबालिका विभागका महानिर्देशक कृष्णप्रसाद पराजुलीले बाल सुधार गृहलाई मापदण्ड अनुसार नै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, युसेप नेपालका उप निर्देशक केशव सुवाल, जग्गादाता जयकेश सिंह, अधिवक्ता वसन्त गौतम, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालालगायतले बाल सुधार गृहको सुधारका लागि धारणा राखेका थिए ।