जग्गादाता सिंह दम्पतिलाई १६ वर्षपछि सम्मान

नेपालगन्ज : संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बाँकेको जयेन्दु बाल सुधार गृह निर्माणका लागि जग्गादाता जयकेश सिंहलाई सम्मान गरको छ । सिंंहले स्व.मातापिता तप्तबहादुर सिंह र हेमरानी सिंहको नाममा रहेको चार बिघा दुई कठ्ठा जग्गा बाल सुधार गृहलाई ६ भदौ २०६७ मा जग्गादान गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका–९ का जयकेश सिंह र उनकी पत्नी इन्दु सिंहलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले दोसल्ला र कदर पत्रले सम्मान गरेकी हुन् । सिंहले सरकार भन्दा ठूलो ट्रष्टि आफ्ना लागि अर्को नभएको र हजारौं हजार छोराहरुको भविष्यका लागि जग्गा दान दिएको बताए ।
सोही अवसरमा बाल सुधार गृहको नयाँ भवन निर्माण गर्ने ठेकेदार कम्पनी यादव कन्ट्रक्सनका सीताराम गोडियालाई पनि सम्मान गरिएको थियो । यो कम्पनीले लक्ष्यभन्दा ६ महिना पहिले नै भवन निर्माण गरेर हस्तान्तरण गरेको छ ।