नेपालगन्जमा सामाजिक सुरक्षा भत्ता लिँदाको सास्ती हट्यो, वडामै भत्ता पाउँदा नागरिक खुसी

नेपालगन्ज : विमल चन्दले केही समय अघि बैंकभित्र भुँइमा बसिरहेका जेष्ठ नागरिक महिलाको फोटो राखेर स्टाटस लेखे, ‘सरकार भत्ता देउ, यति कष्ट नदेउ ।’ उनले स्टाटसमा लाइन लाग्दा पाउने सास्ती र बैंक कर्मचारीको व्यवहारले पनि पीडा दिएकोे लेखेको लेखेका थिए । नेपालगन्ज उपमहानरपालिकाले मंगलबारदेखि यस्तो सास्तीबाट मुक्ति दिएको छ । राष्ट्रिय बाणिज्य बैंकले मंगलबारबाट उपमहानगरको वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष जेष्ठ नागरिकले खुसी ब्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ मा पुगेका नगर प्रमुख विष्टले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुुरक्षा भत्ता वितरण सुरु गरिएको बताए । निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको उनले प्रष्ट पारे ।
राष्ट्रिय बाणिज्य बैंक नेपालगन्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा नम्बर २२ का ३७८ जनाबाट सुरु गरेर नगरका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको जानकारी दिए ।