बारबर्दियामा आफ्नै बुवाले गरे छोराको हत्या

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ११ विजयनगरमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । बुधबार राती ८ बजेतिर सामान्य विषयमा झगडा हुँदा बुवा लौरंगलाल थारुले २४ बर्षिय छोरा विवेक थारुमाथी वियरको बोत्तल प्रहार गरेका थिए । मृतककी आमा मिना थारुले राती ११ बजे मेरोखुसीलाई टेलिफोन बाट दिएको जानकारी अनुसार बोत्तल प्रहारवाट घाईते विवेकलाई नजिकैको मेडिकलमा उपचार पछि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । ‘प्रहरीलाई १०० नम्वरमा धेरैचोटी फोन गर्दा फोन उठेन’ उनले रुदै भनिन ‘समयमा एम्बुलेन्स नपाउँदा राती करिव साढे १० बजेतिर बाटोमा ज्यान गयो ।’
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख बिरेन्द्रबहादुर शाहीले अहिले राती ११:२० बजेसम्म आफुलाई सो विषयमा जानकारी नआएको बताए । ‘हामीलाई कुनै जानकारी आएको छैन, म तुरुन्त बुझ्न लगाई हाल्छु’ उनले भने । अहिले मृतकलाई जिल्ला अस्पताल बर्दियामा ल्याइएको मृतकका काका आशिष थारुले जानकारी दिए ।