नेपाली उत्तीसका प्लाइउड भारत निर्यात

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरमा रहेको मिडलार्ज इन्डष्ट्रिजले भारत निर्यातका लागि उत्पादन गरेको उत्तीस काठको प्लाइउड

शंकरप्रसाद खनाल । नेपालगन्ज
नेपालगन्ज भन्सार हुँदै धेरै वस्तु भारतबाट आयात हुन्छन् । बाँकेका प्लाइउड उद्योगले नेपाली प्लाइउड भारतमा पनि निर्यात गरिरहेका छन् । पूर्वी नेपालका उच्च पहाडी भेगमा पाइने उत्तीसको काठबाट बनेका प्लाइउडको भारतमा उच्च माग रहेको छ । कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेको यो–यो प्लाइउड उद्योग प्रालिले भारतका विभिन्न सहरमा नेपाली प्लाइउड बिक्री गरिरहेको छ । अहिलेसम्म कम्तीमा पनि चार करोड रुपैयाँ बराबरको प्लाइउड भारतमा निर्यात गरिसकेको छ । ‘विगत तीन महिनादेखि भारतमा प्लाइउड निर्यात गरिरहेका छौं’, यो–यो प्लाइउडका सञ्चालक अभयप्रताप जेबी राणाले भने, ‘भारतमा माग धेरै छ । जति माग भइरहेको छ, त्यत्ति प्लाइउड निर्यात गर्न सकिरहेका छैनौं ।’ यो उद्योगले एक दुई दिन बिराएर एक गाडी प्लाइउड भारतमा निर्यात गरिरहेको छ । उत्पादन गर्न सके जति पनि निर्यात गर्न सकिने उनले बताए । ‘माग त दैनिक दुई तीन गाडीकै हुन्छ । आर्थिक मन्दी भन्दै बैंंकले लगानी नगरेपछि हामीले उत्पादन नै गर्न सकेका छैनौं । नेपाली उत्तीसबाट बनेको प्लाइउड भारतको लखनउ, कानपुर, आगरा, दिल्ली, देहरादूनसम्म पुग्ने गरेको छ । ‘ आर्थिक तरलताको समस्या समाधान भएपछि दैनिक ५० लाख रुपैयाँ बराबरको प्लाइउड बेच्ने लक्ष्य रहेको छ’, उनले भावी योजना सुनाए, ‘हाम्रो उद्योगले दैनिक ८० लाख रुपैयाँ बराबरको प्लाइउड उत्पादन गर्ने क्षमता छ । उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्नै सकेका छैनौं । आगामी तीन महिनापछि लक्ष्य अनुसार उत्पादन हुनेछ ।’
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरमा रहेको मिडलार्ज इन्डष्ट्रिज प्रालिको राष्ट्र प्लाइ पनि भारतमा निर्यात गर्ने तयारी भइरहेको छ । ‘भारतको लखिमपुर र लखनउको पाटीले १३ कन्टेनर प्लाइ माग गरेका छन् । उद्योगका अध्यक्ष रिहान शैयदले भने, ‘वन कार्यालयमा स्वीकृतिको प्रक्रिया चलिरहेको
छ । स्वीकृति पाउने बित्तिकै ट्रान्जिट परमिट लिएर निर्यात हुनेछ ।’ भारतमा बिक्री गर्दा ठूलो परिणाममा खपत हुने र उधारोको झन्झट पनि बेहोर्नु नपर्ने उद्योग सञ्चालकहरु बताउँछन् । ‘नेपालको पूर्वी पहाडमा पाइने उत्तीसको काठबाट बनेका प्लाइउडको भारतमा निकै माग छ । उत्तीसको प्लाइ खुम्चिन्न । यसको लेयर पनि घट्दैन । प्लाइ पनि सफा र राम्रो हुन्छ । किरा पनि लाग्दैन’, भारतीयले उत्तीसको प्लाइ मन पराउने कारणबारे शैयदले प्रष्ट पारे, ‘अहिले भारतमा प्लाइउड उत्पादन गर्ने काठको अभावमा प्लाइ महंगो परेकाले पनि भारतीय सस्तो र राम्रो नेपाली प्लाइ रोज्न थालेका हुन् ।’ यद्यपि नेपाली प्लाइ उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि भारतीय बाटो भएर आयात गरिन्छ । नेपालमै उत्पादन भएको कच्चा पदार्थबाट बनेको प्लाइ निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने प्लाइ उद्योगका सञ्चालकहरु बताउँछन् । प्लाइउड उत्पादक संघका पूर्वराष्ट्रिय अध्यक्ष चम्पालाल बोथरा पनि नेपाली उत्तीसको प्लाइउडको भारतमा उच्च माग रहेको बताउँछन् । नेपालमै लोकप्रिय नेपालगन्जमा उत्पादन हुने शिखर प्लाइका सञ्चालक बोथरा भन्छन्, ‘पूर्वी नेपालबाट नेपाली उत्तीसको प्लाइ भारत गइरहेको छ । भारतमा जति माग छ, त्यत्ति निर्यात गर्न उद्योगले सकेका छैनन् । निर्यातमा सरकारले केही अनुदान दिएमा अझै धेरै निर्यात गर्न सकिन्छ ।’
सञ्चालक राणा नेपालबाट प्लाइउड भारत निर्यात गर्दा सिमेन्ट र सरियामा जस्तै निर्यातमा सरकारले सहुलियत दिनुपर्ने र प्लाइउडलाई कृषि उपजका उत्पादनको कोटीमा राख्दा प्लाइउड निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको बताउँछन् ।