बालिकाले सम्हाले शिक्षा शाखा र स्वास्थ्य चौकी प्रमुखको पद !

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखको पद १५ वर्षीया सलिना चौधरीले सम्हालेकी छन् ।
११ औं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा विहीबार भेरी वातावरणीय विशिष्टता समूूह (बी–ग्रुप) र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल)को सहकार्यमा सञ्चालित गर्ल्स टेक ओभर’ कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिका ४ घर भएकी चौधरीलाई गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सीताकुमारी भण्डारीले एक दिनका लागि आफ्नो पद हस्तान्तरण गरेकी हुन् ।
उनले सम्पूर्ण विद्यालयहरुमा स्वस्थ खाजाको ब्यवस्था र सेनेटेरी प्याडको निःशुल्क ब्यवस्था गरिने प्रतिबद्धता जनाएकी थिइन् ।
त्यसै गरि बिहीबार नै ठाकुरबाबा नगरपालिको ५ की १८ वर्षीया जुनमाया थारुले बगनाहा स्वास्थ्य चौकीको प्रमुख पद सम्हालेका थिइन् । स्वास्थ्य चौकीका प्रमुख ओम चुनाराले आफ्नो पद हस्तान्तरण गरेका थिए । पद सम्हाल्दै जुनमाया थारुहरुका लागि विद्यालयहरुमा निःशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिने प्रतिबद्धता जनाइन् ।
सो अवसरमा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले १० वर्षे गुरुयोजना निर्माण गरी किशोरी शिक्षाको निरन्तरताको लागि शिक्षाको क्षेत्रमा बजेट विनियोजन गरेको बताएका थिए ।