‘निर्वाचनका समाचारमा पत्रकारले मिथ्या सूचना, द्वेषपूर्ण भनाइ र दुष्प्रचारबाट जोगिनुपर्ने’

नेपालगन्ज : पत्रकारले निर्वाचनका समाचार लेख्दा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण भनाइबाट जोगिनुपर्ने निर्वाचन आयोग नेपालका पदाधिकारी र निर्वाचन अधिकारीले आग्रह गरेका छन् ।
आयोगले बिहीबार नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरलगायतका वक्ताहरुले बाँकेका पत्रकारसँग मतदातालाई भ्रमित पार्ने समाचार नलेखेर आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।

आयुक्त डा. जानकीकुमारी तुलाधरले आचारसंहिताको उल्लंघनमा मिडियालाई ‘वाच डग’ को भूमिका निभाउन पनि आग्रह गरिन् । उनले भनिन्, ‘स्थानीय तह निर्वाचनमा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मिडियाबाट निष्पक्ष भूमिकामा रहिदिन र सत्यतथ्य सामग्री मात्र प्रसारण गरिदिनुुस् ।’

कार्यक्रममा बाँकेका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महरा, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली र राससका पूर्वप्रधान सम्पादक राजु शाक्यले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहीत बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए । सो अवसरमा पत्रकारले कार्यक्रमका प्रस्तोतासँग अन्तरक्रिया पनि गरेका थिए ।