तिहार २०७९ : लक्ष्मीपूजा र कुकुर तिहार एकैदिन

नेपालगन्ज : सामान्यतः काग तिहारको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मीपूजा हुन्छ । यो वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन सोमबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।