पत्रकारितालाई मर्यादित बनाऔं : नगर प्रमुुख विष्ट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पत्रकारिता पेशालाई मर्यादित बनाउन आग्रह गरेका छन् ।
मेरो खुसी डटकमको संयोजनमा पाल्पा विकास केन्द्र तानसेनले शनिबार नेपालगन्जमा आयोजना गरेको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा नगर प्रमुख विष्टले राजनीति दल र विचारप्रति वितृष्णा रहे जस्तै खराब पत्रकारका कारण पत्रकारिता पेशाप्रति विश्वसनीयता घट्दै गएकाले थोरै व्यवसायिक पत्रकारले पेशालाई मर्यादित बनाउन सुझाव दिए । उनले भने, ‘नेपालमा पत्रकारिताको गौरवमय इतिहास छ । पछिल्लो समय खराब पत्रकारिता बढेको छ । यसलाई समयमै रोकिएन भने यो ठूलो रोगको रुपमा रहने मैले देखिरहेको छु ।’
कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचना र समाचारले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका थिए । समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।
कार्यक्रममा नागरिक दैनिकका एशोसियट सम्पादक तिलक पाठकले मिथ्या सूचना, निर्वाचन र लोकतन्त्रका विषयमा प्रशिक्षण दिँदै मिथ्या सूूचनाले सार्वजनिक सुरक्षामा चुनौती हुने, साम्प्रदायिक सहिष्णुता वा सद्भाव बिग्रिने, समाजमा द्वन्द्व बढाउने, लोकतान्त्रिक प्रक्रियालाई नै नकारात्मक असर पर्ने बताए ।
उनले विश्व र नेपालमा भएका मिथ्या सूचना सम्बन्धी अभ्यासको उदाहरण दिँदै पत्रकारले सत्यको परीक्षण नगरे मिडियाको विश्वसनीयता घट्ने बताए । मिथ्या समाचार प्रकाशन प्रसारणबाट जोगिने, गल्ती भएमा सच्चाउने तत्परता र पारदर्शिता अपनाउने र सूचना साक्षरता र तथ्यजाँचमा जोड दिन पत्रकार र मिडियालाई उनले सुझाव दिए । उनले नागरिकलाई सुझाव दिए, ‘कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस् । प्रकाशित सामग्री मिथ्या हुनसक्छ भनेर सचेत हुनुहोस् ।’

कार्यक्रममा पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, युवराज पाण्डे, अर्जुन ओली, कमल खत्री, रुपनी जीएम, आशिष गुप्ता, निशु जोशी, विजय मल्ल ठकुरी, भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा.संकेत रिसाल, नेपाल वार एशोसियसनका जिल्ला अध्यक्ष जनकबहादुर शाही, सूचना अभियन्ता विश्वजीत तिवारी, सीता बोहोरालगायतले मिडियामा आएका मिथ्या सूचना र तिनले पारेको प्रभावबारे धारणा राखेका थिए ।

पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल र कार्यक्रम संयोजक किरण कौशलले सूचनाको तथ्यजाँचका विषयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी गराएका थिए ।