कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई सोमबार ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाअनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी–६ का २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धीीरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।
त्यसैगरी टीकापुर नगरपालिकाको खड्ग चोक नजिकै सोमबार बिहान साढे आठ बजेतिर बसले च्यापिएर लम्कीचुहा नगरपालिका वडा नं. १ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको छ । बसका मालिक देवकोटा ना ५ ख ५८७२ नम्बरको बसको ढोकाबाट खसेर च्यापिएको प्रहरीले जानकारी दिएको छ । टीकापुरबाट धनगढी जान लागेको बसमा यात्रु चढाउने क्रममा मृतक देवकोटा ढोकाबाट झर्ने क्रममा अल्झिएर खसेको प्रत्यक्षदर्शीले बताएका छन । उनी ढोकाबाट खसेपछि बसको पछाडीको चक्कामा च्यापिएका थिए । मृतक देवकोटाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।