किसानको उत्पादन सरकारले खरिद नगरे नेकपा एसले आन्दोलन गर्छ : उप-महासचिव पौडेल

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी) पार्टीले जनताले उत्पादन गरेको कृषि उपज खरिद नगरे सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।
समाजवादी प्रेस संगठन नेपाल बाँके शाखाले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उप-महासचिव डा.विजय पौडेलले कृषि क्षेत्रको विकासबाट मात्र समृद्धि सम्भव भएको भन्दै किसानका उत्पादन सरकारले खरिदको ग्यारेन्टी गर्नुपर्ने पार्टीको घोषणा पत्रमै उल्लेख गरेको बताए । उनले भने, यदि सरकारले किसानका उत्पादन खरिद गरेन भने हामी सडक संघर्ष गर्नेछौं । अनशनमा बस्नेछौं ।
नेता पौडेलले देशमा आर्थिक समृद्धिका लागि सरकारले किसानका उत्पादन किन्नुपर्ने बताए । उनले भने, ‘अमेरिका, बेलायत जस्ता देशले पनि कृषि उत्पादन बिक्रीको ग्यारेन्टी गरेका छन् । जबसम्म सरकारले किसानका कृषि उपज खरिद गर्दैन तबसम्म कृषि आयातमुखी मात्र हुन्छ ।’ उनले कृषि क्षेत्रको विकास हुँदा छोटो अवधिमै धेरै रोजगारी सिर्जना हुने र देश चाँडै समृद्धिको दिशामा अघि बढ्ने बताए ।