समाजका हानिकारक अभ्यासविरुद्ध कलम चलाउन युवालाई पत्रकारिता तालिम

खजुरा : भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)ले बाँकेको खजुरा गाउँपालिकाका युवायुवतीलाई पत्रकारिता तालिम दिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बी–ग्रुपले सञ्चालन गरेको नेतृत्व र निर्णय परियोजनाले तीन दिने युथ रिपोर्टर तालिम दिएको हो । शनिबार तालिम समापनको अवसरमा संस्थाका कार्यकारी निर्देशक डम्बर सुनारले समाजमा रहेका हानिकारक अभ्यास बालविवाह, दाइजो प्रथा, छुवाछुत, सामाजिक विभेदलगायतका विषयविरुद्ध कलम चलाउन युवा युवतीलाई पत्रकारिता तालिम दिएको बताए । उनले भने, ‘समाजका चेन्जिङ एजेन्ट युवा नै हुन् । युवालाई सशक्तिकरण गर्दा समाजमा यस्ता अभ्यासविरुद्ध उनीहरुले लेखेर आवाज उठाउने छन् भन्ने हाम्रो विश्वास हो ।

संस्थाका उपाध्यक्ष मीरा खनालले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह सहभागीलाई सुझाव दिएकी थिइन् । उनले भनिन्, ‘तालिममा सिकेको कुरा अभ्यास गरेर देखाउनु भयो भने मात्र त्यसको सार्थकता हुनेछ ।’

समापन कार्यक्रममा सहभागीहरु टोपबहादुर विक, चेतना केसी, विपिन बैजाली र फरिदा बानो साईले समाचार लेखेर समाज परिवर्तनमा लाग्ने बताएका थिए । तालिममा मेरो खुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट्का उप–सम्पादक शंकरप्रसाद खनालले पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक अभ्यासबारे सहजीकरण गरेका थिए । तालिममा खजुरा गाउँपालिकाको ८ वटै वडाका १६ जना युवायुवती सहभागी रहेको बी–ग्रुपका खजुरा फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले जानकारी दिइन् ।