निर्वाचनमा मिडिया र सोसल मिडियाको दुरुपयोग

नेपालगन्ज : निर्वाचनमा मिडिया र सोसल मिडियाको दुरुपयोग भइरहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँके र डिजिटल राइटस् नेपालको आयोजनामा आइतबार नेपालगन्जमा आयोजना गरिएको निर्वाचन आचार संहिता, सामाजिक सञ्जाल र प्रविधि अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । अधिवक्ता वसन्त गौतमले उम्मेदवारले फेसबुकको फेकआइडी बनाएर विरोधीमाथि दुष्प्रचार गरेको बताए । बाल अधिकारकर्मी साहिल अन्सारीले मिडियाबाटै समाचार भन्दा विरोधी विरुद्ध लक्षित गरिएको बताए । उनले भने, ‘मिडियाले कुनैले उम्मेदवारको गुणगान गाउने र कुनैले गाली गर्ने क्रम बढिरहेको छ ।’
कार्यक्रममा जिल्ला आचार संहिता अनुगमन समितिका संयोजक खडानन्द अधिकारीले सबै पक्षबाट आचारसंहिता पालना गराउनका लागि सक्दो प्रयास भइरहेको बताए । अधिवक्ता सन्तोष सिग्देलले निर्वाचन, आचार संहिता र सामाजिक सञ्जालको प्रयोगबारे सहजीकरण गरेका थिए । उनले निर्वाचनमा स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सामाजिक सञ्जालको प्रयोग गरिरहेको बताए । कार्यक्रममा दलका नेता, कार्यकर्ता, अधिकारकर्मी, सामाजिक अभियन्ता, पत्रकारलगायतको सहभागिता रहेको थियो ।