काम गर्ने दीपक, पगरी गुथ्ने पूर्वमन्त्री राई !

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष दीपक वर्र्माले पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकासको झुठो प्रचार गरेर नगरवासीमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।
वडाध्यक्ष वर्माले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर वडा कार्यालयको बजेटबाट निर्माण सम्पन्न भएका योजनालाई राईले आफूले गरेको निर्वाचनका लक्षित पुस्तिकामा उल्लेख गरेको बताए । वडा नंं. १८ ले आफ्नै लगानीमा ४ वटा हाइमास्ट लाइट जडान गरेको छ । राईले ती हाइमास्ट लाइट २ वटा मात्र वडाले जडान गरेको र अरु २ वटा आफूले जडान गरेको दाबी गरेका छन्’, उनले भने, ‘राई मन्त्री हुनु अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको सघन सहरी विकास कार्यक्रमको टेण्डर भएका बाइपास सडक, नगरका २२ वटा सडक, वाटरपार्क लगायतका आयोजनामा श्रेय लिन खोजेका छन् । यसमा राईको कुनै योगदान नै छैन ।’
मन्त्री नियुक्त हुनु अघि नै निर्माण सम्पन्न भएका नगरका २२ वटा सडकमा राईले शिलालेख राख्न खोजेपछि नगरको वडा नं. १८ लगायतका वडाले शिलालेख राखेर उद्घाटन गर्ने कार्य बिथोलेका थिए । वडाध्यक्ष वर्माले आफूले गर्दै नगरेको विकासलाई पुस्तिका प्रकाशित गरेर नगरवासीमा भ्रम सिर्जना गरेको बताए । वडाध्यक्ष राईले आफूले गरेका कामको फेहरिस्त र प्रमाण पनि पत्रकारलाई उपलब्ध गराएका थिए । रार्ईका यी गतिविधिले नेपालगन्जमा ‘काम गर्ने दीपक, पगडी गुथ्ने पूर्वमन्त्री राई’ भनेर आलोचना भइरहेको छ ।