नयाँ पत्रिकाको समाचार इस्तियाक टिमले यसरी बनायो भ्रमपूर्ण

नेपालगन्ज : इस्तियाक राईको प्रचार–प्रसार सचिवालय नामक फेसबुक पेजमा बिहीबार अपलोड भएको एउटा फोटो अहिले भाइरल बनेको छ ।
नयाँ पत्रिका दैनिकको मास्टहेड (पत्रिकाको नाम)को मुन्तिर जो भोलि देश हाँक्ने हैसियत राख्छन् शीर्षकको ब्यानर न्यूज प्रकाशित भएको छ । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईको नमस्कार गर्दै गरेको सुन्दर फोटो र छेउमा अरु साना साना १५ वटा फोटो पनि छन् । झट्ट हेर्दा देशमा नयाँ सरकार गठन हुँदा राष्ट्रिय दैनिक र अनलाइन मिडियामा प्रधानमन्त्रीको ठूलो फोटो र मन्त्रिपरिषद्का सदस्यको सानो सानो फोटो इन्फोग्राफिक्समा राखेर प्रस्तुत गर्ने चलन छ । यो फोटोले त्यस्तै फिलिङ दिन्छ । नयाँ पत्रिकाले इस्तियाककै फोटोलाई किन यति ठूलो बनाएर किन प्रकाशित गरेको होला भनेर तपाईलाई जिज्ञासा हुनसक्छ ? मेरो खुसीले यही प्रश्नको उत्तर खोज्न नयाँ पत्रिका दैनिकको ई–पेपरमा पत्रिकाको प्रथम पृष्ठ खोज्यो । तथ्य त अर्कै रहेछ ।

राईका प्रचारकले फोटोशपको दुरुपयोग गरेर नयाँ पत्रिकाको समाचार र फोटोलाई तोडमोड गरेर भ्रम सिर्जना गरेको रहस्य खुल्छ । खासमा पत्रिकाको नाम, समाचारको शीर्षक नयाँ पत्रिकाले नै राखेकै रहेछ तर इस्तियाकको ठूलो मात्र फोटो फोटोशपको प्रयोगबाट थपिएको रहेछ । नयाँ पत्रिकाको ब्यानर न्युजभित्र बक्समा रहेको शीर्ष नेता लगभग सबै सुरक्षित शीर्षकको समाचारलाई त्यहाँबाट हटाएर पत्रिकाको दायाँ भाग खाली गरी चलाखीपूर्ण रुपमा इस्तियाकको फोटो राखिएको रहेछ । यो काम फोटोशप चलाउन निकै प्रोफेसनल व्यक्तिले गरेकाले त्यहाँ राखेको फोटो फेक जस्तो लाग्दैन । कुरा त्यत्तिमै सकिदैन । पत्रिकाको वास्तविक समाचार यसरी तोडमोड गरेर तयार गरिएको फोटोलाई राईको प्रचार समूहले फेसबुकबाट बुष्ट गरेर अर्को भ्रम सिर्जना गरेको छ ।

जुन फोटो विकास पुरुष इस्तियाक राईलाई फेरि पनि जिताऔं, नेपालगन्जलाई समृद्ध बनाऔै नामको फेसबुक पेज लगायतबाट बुष्ट गरिएको छ । त्यहाँबाट धेरैले शेयर पनि गरेका छन् । चुनावमा भ्रमपूर्ण प्रचारसँगै पत्रिकामा प्रकाशित समाचारलाई नै तोडमोड गरेर भ्रमपूर्ण प्रचार गर्ने अर्को शैली थपिएको भनेर पनि आलोचना भइरहेको छ ।