गठबन्धनबाट बाँकेमा विजयी सांसदलाई सम्मान

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित सांसदलाई सम्मान गरेको छ ।
कांग्रेस बाँकेको नेपालगन्जस्थित कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा बाँके क्षेत्र नं. ३ बाट निर्वाचित किशोर सिंह राठौर, बाँके क्षेत्र नं. ३ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बादशाह कुर्मी र बाँके क्षेत्र नं. १(१) बाट प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कृष्णा केसी ‘नमूना’लाई बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

कांग्रेस सह–महामन्त्री तथा बाँके क्षेत्र नं. ३ का सांसद किशोरसिंह राठौरले कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीभन्दा ठूलो नबन्नुस् । पद लिएर पदलाई न्याय गर्नुस् । अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ, । दलाली गर्न कांग्रेसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।’ उनले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित सांसदद्वय बादशाह कुर्मी र कृष्णा केसी नमूनाले जिल्लाको विकासमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नवनिर्वाचित सांसदहरु राठौर, कुर्मी र नमूनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।
बाँकेका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यमध्ये बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा र बाँके क्षेत्र नं. ३ (२) र बाँके क्षेत्र नं. १ (१) बाहेक सबै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन पराजित भएको छ । ९ जना सांसद संख्यामध्ये प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभामा कांग्रेसका मात्र ६ जनाले उम्मेदवारी दिएका थिए ।