समृद्ध बाँकेका लागि सांसदको प्रतिबद्धता

समृद्ध बाँकेबारे धारणा राख्दै बाँके क्षेत्र नं. २ का नवनिर्वाचित सांसद डा.धवल शम्शेर राणा 

नेपालगन्ज : बाँकेका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले समृद्ध बाँकेका लागि प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले बिहीबार नेपालगन्जमा जिल्लाबाट निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कार्यक्रममा बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणाले जिल्लाको विकासका लागि जनमुखी काम गर्ने सांसदको साथ लिएर काम गर्ने बताए । राज्यको उद्योगी व्यवसायीलाई संरक्षण नगर्ने नीतिकै कारण समस्या भएको बताउँदै आफू निरन्तर बाँकेका विकासका मुद्दामा काम गर्ने प्रतिबद्धता जनाए । उनको जोड थियो, ‘संस्थागत रुपमा रहेको भ्रष्टाचार उन्मुलन नभएसम्म जनमुखी काम हुनसक्दैन । जबसम्म यस्तो प्रवृत्तिको अन्त्य हुँदैन । तबसम्म विकास हुँदैन ।’
बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित किशोरसिंह राठौरले त आफू बाँकेको विकासकै लागि काठमाडौं र बर्दिया छोडेर बाँकेमा निर्वाचन लड्न आएको बताए । ‘हिजो सुशील दाइको क्षेत्र भनेर म बर्दिया गएको हुँ । अब बाँकेको विकासका लागि आएको हुँ’, उनले भने, ‘नेपालगन्ज साबिकको मध्य र सुदूरपश्चिम प्रदेशको केन्द्र हो । संघीयतामा पछि परेको छ । अब यो क्षेत्रको विकासमा लाग्छु ।’
बाँके क्षेत्र नं. १(१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णा केसी ‘नमूना’ले जिल्लामा कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको बताइन् । ‘नरैनापुर, कोहलपुर, राप्तीसोनारी र नेपालगन्ज जस्ता ठाउँमा के–के सम्भावना छन् ? तिनको पहिचान गरेर क्षेत्रगत रुपमा विकास गर्नुपर्छ’, उनको जोड थियो, ‘हामीले पर्यटन क्षेत्रका लागि नेपालगन्ज–पोखरा उडान सफल बनायौं । अब नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरेर नेपालगन्ज–दिल्ली उडानको सपना पूरा गर्नुपर्छ ।’
कार्यक्रममा जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, बाँके क्षेत्र नं. १ (२)का प्रदेशसभा सदस्य दुर्गा थारु र बाँके क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य बादशाह कुर्मीलगायतले समृद्ध बाँके निर्माणका सम्भावना र आफ्ना प्रतिबद्धता जनाएका थिए ।