विकासका एजेण्डामा एकैठाउँमा उभिन ध्यानाकर्षण गराउँदै नवनिर्वाचित सांसदलाई संघको बधाइ
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेको विकासका लागि एकै ठाउँमा उभिएर काम गर्न ध्यानाकर्षण गराउँदै नवनिर्वाचित सांसदलाई बधाइ ज्ञापन गरेको छ । संघले शुक्रबार नेपालगन्जमा बाँकेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई बधाई ज्ञापन कार्यक्रम आयोजना गरेर जिल्लाको विकासका एजेण्डाबारे पनि ध्यानाकर्षण गरेको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले प्रतिनिधिसभाका सदस्यहरु बाँके क्षेत्र नं. १ का सूर्य ढकाल, क्षेत्र नं. २ का डा. धवल शम्शेर राणा र क्षेत्र नं. ३ का किशोरसिंह राठौंरका साथै प्रदेश सभा सदस्यहरु कृष्णा केसी नमूना, दुर्गाबहादुर चौधरी, आदेशकुमार अग्रवाल, बादशाह कुर्मी र रत्नबहादुर खत्रीलाई माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रदेश सभा सदस्य भण्डारीलाल यादव भने कार्यक्रममा उपस्थित भएनन् ।
संघका अध्यक्ष मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल वैश्य र ब्यवसायी विमल ढकालले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई विकासका मुद्दामा राजनीति नगरेर सबै मिलेर काम गर्न आग्रह गरेका थिए । वक्ताहरुले उद्योगी र व्यवसायीले आर्थिक क्षेत्रमा भोग्नुपरेको समस्या सुनाउँदै समाधानको पहल गर्न अनुरोध गरे । उनीहरुले बैंकले दिनदिनै फोन गरेर धम्कीपूर्ण व्यवहार गरिरहेको बन्दै अहिले उत्पन्न समस्याको समाधान गर्न कुनै न कुनै पहल लिन आग्रह गरे । खुला सीमा नियन्त्रणका लागि पहल गर्नुपर्ने कुराहरुमा जोड दिएका थिए ।प्रतिनिधिसभाका सदस्यहरु किशोरसिंह राठौंर, डा.पशुपति शम्शेर राणा, सूर्य ढकाल तथा प्रदेश सभा सदस्य नमुना र अग्रवालले विकासका मुद्दामा आफूहरु एकैथलोमा उभिने प्रतिबद्धता जनाएका थिए ।