आचार्यको छैठौं कृति ‘जरत्कारु’को विमोचन

नेपालगन्ज : साहित्यकार किरण आचार्यद्वारा लिखित जरत्कारु उपन्यासको शनिबार नेपालगन्जमा विमोचन गरिएको छ ।
आचार्यका यसअघि थारु भाषाको सँपरजुवा कथा संग्रह, कथासंग्रह क्यान्टोनमेन्ट, ‘अस्तित्व’ र अनुभूति नामका दुई लघु कविता संग्रह प्रकाशित भइसकेका छन् ।
शाश्वत फाउन्डेसनले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायतले सामुहिक रुपमा पुस्तक विमोचन गरेका थिए । कृतिमाथि समीक्षकद्वय लेकप्रसाद प्याकुरेल र पुष्कर रिजालले समीक्षा गरेका थिए । प्याकुरेलले कृतिमा रहेका दार्शनिक पक्ष र रिजालले कृतिको कथावस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटर, पत्रकार शुक्रऋषि चौलागाईं, कवि नवीन अभिलाषी, शालिक रब्बानी, लगायतले कृतिको सफलताको कामना गरेका थिए ।
शिखा बुक्स काठमाडौंले प्रकाशित गरेको उपन्यास पौराणिक विषयवस्तुमा आधारित रहेको छ । पुस्तकमा बहुविवाहका घातक परिणामबारे चित्रण गर्दै नारीप्रति युगौंदेखि हुँदै आइरहेको दुव्र्यवहार र विभेदको चित्रण गरिएको छ । नेपाली नारीहरुले वर्तमानमा भोगिरहेको यर्थाथ र गर्दै आएका संर्घषलाई प्रतीकात्मक रुपमा प्रस्तुत गरेको छ । शाश्वत फाउन्डेशनका संरक्षक जनार्दन आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेका थिए । सो अवसरमा स्व.शाश्वत आचार्यको तस्बिरमा पुष्प र अविर अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।