माओवादीसँग तत्काल एकता गर्ने निर्णय र प्रयास भएको छैन : उप-महासचिव प्रकाश ज्वाला

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का उप-महासचिव प्रकाश ज्वालाले माओवादीसँग तत्काल पार्टी एकता गर्ने प्रयास र निर्णय नभएको बताएका छन् ।
सल्यान जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता ज्वालाले शनिबार बाँकेको कोहलपुरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वृहद वाम एकता पार्टीको नीति रहे पनि अहिले नै एकताको पहल नभएको बताए ।
‘बृहद वाम एकताको लागि पनि पहल र प्रयास अगाडि बढाउनु पर्छ हाम्रो नीति प्रष्ट छ । त्यसलाई अगाडि बढाउनेछौं’ उनले भने, ‘कसैसँग अहिले नै एकता भइहाल्ने गरी प्रयत्न नै भएको छैन । हामीले वृहद वाम एकताको कुरा गर्दै आइरहेका छौं ।’ उनले गठबन्धनको बीचमा अझै बलियो गठबन्धन बनाएर सरकारमा गएर राष्ट्र र जनताको पक्षमा परिवर्तनकारी काम गर्नुपर्ने पार्टीको मान्यता रहेको बताए ।