अतिक्रमण हटाउन टीकापुरमा पनि चल्यो डोजर !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकामा अतिक्रमण गरि बनाएका सार्वजनिक जग्गा खाली गर्ने काम सुरु गरेको छ ।
नगरपालिकाले वडा नम्बर ४ को मौरनियास्थित स्थानीय नरेन्द्र बोहरा र पदम कठायतले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर र घेरावार मंगलबार भत्काएर जग्गा खाली गर्न सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउन तथा जग्गा खाली गर्न नगरपालिकाले मंगलबारदेखि डोजर चलाएको टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारुले बताए । टीकापुरले असोज १३ गते अतिक्रमीत सार्वजनिक जग्गा खाली गर्न भन्दै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । केहीले निर्धारित अवधिमा अतिक्रमित जग्गा खाली गरेको र सूचनालाई अटेर गर्नेलाई पहिलो चरणमा डोजरको प्रयोग गरि जग्गा खाली गरिरहेको नगर प्रमुख डगौराले बताए ।
अतिक्रमित जग्गा खाली गर्ने काम सुरु भएसँगै बुधबार टीकापुर नगरपालिकाको वडा नं. १ को ब्लक नं. २४ र २५ मा अतिक्रमित जग्गा खाली गरिने उनले जानकारी दिए । टीकापुरका २, ३ र ६ मा अतिक्रमित जग्गाको उजुरी आएकाले हटाउने काम निरन्तर जारी रहने उनले प्रष्ट पारे ।