कोहलपुरको विकासमा समन्वय र सहकार्य गर्छु : सांसद नमूना

कोहलपुर : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएकी छन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलगायतका जनप्रतिनिधिसँग बुधबार भएको भेटमा सांसद नमूनाले विकास निर्माणका काममा सहकार्य गरेर अगाडि बढ्ने बताएकी हुन् ।
‘कोहलपुरका धेरै योजनाका लागि अघिल्लो कार्यकालमा समेत धेरै बजेट आएका छन् । यो मेरो निर्वाचन क्षेत्र होइन । बाँके जिल्लाकै विकास र समृद्धि मेरो लक्ष्य भएकाले यहाँको विकासका लागि म पछि हट्ने छैन,’ उनले भनिन्, ‘स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर प्रदेश सरकारबाट योजनाहरु पार्न भूमिका खेल्छु ।’
सांसद नमूनालाई नगर प्रमुख आचार्य र वडा नम्बर १५ का अध्यक्ष दीपेन्द्र चौधरीले नगरपालिकामा स्वागत गरेका थिए । उनीहरुले कोहलपुरमा लुम्बिनी प्रदेश सरकारबाट विभिन्न विकास निर्माणका योजना पार्नको लागि भूमिका खेल्न पनि सांसद नमूनासँग आग्रह गरेका थिए ।