फातिमा अध्यक्ष सिद्धिकीलाई भजनराम मानव अधिकार पुरस्कार

नेपालगन्ज : फातिमा फाउण्डेसन बाँकेका अध्यक्षमैमुना सिद्धिकीलाई यो वर्षको भजनराम मानव अधिकार पुरस्कार प्रदान गरिएको छ ।

भजनराम स्मृति अक्षय कोष बाँकेले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर वागचन्दले सिद्धिकीलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन् ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने भजनराम मानव अधिकार पुरस्कारका लागि वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठको संयोजकत्वमा पुरस्कार छनौट सिफारिस समितिले गरेको सिफारिस अनुसार भजनराम स्मृति अक्षय कोषले भजनराम मानव अधिकार पुरस्कार दिने निर्णय गरेको भजनराम स्मृति अक्षय कोषका अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम नेपाल, नेपाल बार एशोसिएसन, इन्सेक, मानव अधिकार एलाइन्स, महिला कानून र विकास मञ्चलगायत मानव अधिकार सञ्जालमा आवद्ध विभिन्न अधिकारवादी संघ संस्थाद्वारा आयोजित कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश डा.रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताएका थिए । मानव अधिकारलाई जाति, लिंगका आधारमा छुट्याएर हेर्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्ने कुरामा जोड दिदै न्यायाधीश बागचन्दले मानवले सम्मानपूर्वक बाच्न पाउने अवस्थाको यात्रामा सबै लाग्नु पर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मयर प्रशान्त बिष्टले मानव अधिकारको संरक्षण र संबद्र्धन हुन सकेमा देशमा विकास र सुशासन हुने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका निमिक्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, नेपाल वार एशोसिएसनका पूर्वउपाध्यक्ष टीकाजंग सिंह, जिल्ला प्रहरी कार्यालय बाँकेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, महिला कानून र विकास मञ्चका वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, फियान नेपालका नेपालगन्ज प्रमुख सुरेशकुमार गौतम, मानव अधिकार एलाएन्सका केन्द्रिय सदस्य प्रभातकुमार ठकुरी, फेडोका अध्यक्ष निर्मला सुनार, म्याग्नामिटका प्रतिनिधि एवं सिद्धीटपका सतिश पाठक लगायतका वक्ताले नागरिककोे सबै प्रकारका मानव अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए ।