नेपालगन्ज म्याराथनमा पत्रकारलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न चौतर्फी दवाब

नेपालगन्ज : ८औं धारा नेपालगन्ज म्याराथनमा बाँकेका आधा दर्जन पत्रकारमाथि दुर्व्यवहार भएको घटनाको सर्वत्र विरोध भएको छ । गत शनिबार नेपालगन्जमा सम्पन्न नेपालगन्ज म्याराथनको समाचार र भिडियो खिच्न गएको बेला नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदी, एभिन्युज टेलिभिजका खम्ब पुन, प्राइम टेलिभिजनका रविन्द्र घिमिरे, बागेश्वरी डटकमका गौरव गिरी र नेपाल पत्रकार महासंघ बाँके शाखा सदस्य जावेद अहमदलाई आयोजक क्रियटिभ ह्याण्डस्का सौगाम मल्लले समाचार संकलनमा रोक लगाउँदै दुर्व्यवहार गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलगायत पत्रकारका संघसंस्थाले पत्रकारमाथि भएको दुव्र्यवहारको विज्ञप्ती प्रकाशित गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सोमबार विज्ञप्ती प्रकाशित गरी पत्रकारमाथि भएको दुर्व्यवहारको घटनालाई प्रेस स्वतन्त्रताविरोधी गतिविधिको संज्ञा भन्दै भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रेस चौतारी केन्द्रीय समितिले पनि दुर्व्यवहारको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिकोे ठाडो हस्तक्षेप भएको बताएको छ । प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले विज्ञप्ती प्रकाशित गरी श्रमजीवी, सक्रिय पत्रकारमाथि आइपरेको संकटमा मुुकदर्शक नभइ सशक्त आवाज उठाउन सम्पूर्ण प्रेस जगत, नागरिक समाज, मानव अधिकार आयोग, पेशागत संघसंगठनलाई हार्दिक आव्हान गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न सरकार र प्रहरी प्रशासनसँग आग्रह गरिएको छ ।
प्रेस चौतारी नेपाल बाँके शाखाका अध्यक्ष दुर्गा रोकायले सोमबार विज्ञप्ती प्रकाशित गरेर समाचार संकलनमा खटिएका पत्रकारमाथि जस्तोसुकै दुर्व्यवहार हुनु निन्दनीय भन्दै भत्र्सना गरेको छ । ‘स्वतन्त्रतापूर्वक संवैधानिक अधिकारसहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, विज्ञप्तीमा भनिएको छ, ‘यो ज्यादतीको घोर भत्र्सना गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दर्छौ ।’
अनलाइन पत्रकार संघ नेपालले बाँकेले विज्ञप्ती जारी गरेर पत्रकारमाथि यसरी दादागिरी मच्चाउने र समाचार संकलनमा रोक लगाइ दुर्व्यवहार गर्ने ब्यक्तिमाथि कारबाहीको माग गरेका छन् । संघले घटनामा संलग्न शाहलाई कारवाही नगरे आयोजक संस्थाका आगामी सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा नेपालगन्ज म्याराथनमा पत्रकारमाथि भएको दुर्व्यवहारबारे छलफल गरिँदै । फोटो : कमल डाँगीको फेसबुकबाट

आयोजकले माग्यो माफी
नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टी.एस.ठकुरीले घटनाको जिम्मेवारी लिँदै माफी मागेका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखामा आइतबार भएको छलफल कार्यक्रममा अध्यक्ष ठकुरीले पत्रकारमाथि आक्रमण गर्ने नियत नभइ परिस्थितिजन्य घटना भएको भन्दै आयोजकको तर्फबाट आत्मआलोचनासहित क्षमायाचना गरेको नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । महासंघले आगामी दिनमा त्यस्ता घटनाहरु पुनरावृत्ति नहुने वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षसँग माग गरेको छ ।

पत्रकार चौधरीलाई धम्कीको पनि विरोध
बाँकेको राप्तीसोनारी खबर डटकम समाचारमूलक अनलाइन सञ्चालक कम्पनी राप्तीसोनारी मिडिया प्रालिका अध्यक्ष हेमबहादुर थारु (हेमन्त चौधरी)लाई गत २४ मंसिरमा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुनिल आचार्यले राप्तीसोनारी गाउँपालिका–४ माहुँमा दुर्व्यवहार र भौतिक आक्रमण गर्ने धम्की दिएका थिए । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र बाँके जिल्ला शाखाले घटनाको निन्दा र भत्र्सना गर्दै वन अधिकृत आचार्यलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

पत्रकारले न्याय पाएनन्
बाँकेमा गत कार्तिक महिनामा पनि चार जना सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएको थियो । कोहलपुरमा कार्यालय रहेको साहारा टिभी (युट्युब च्यानल)का हिमान्सु शाही र नेपालगन्जका सञ्चारकर्मी अभिनव गुप्तामाथि तस्कर समूहले आक्रमण गरेको थियो । सञ्चारकर्मी नविन परियार र बसन्ती हमालमाथि पनि अज्ञान समूहले दुर्व्यवहार गरेको थियो । पत्रकार र सञ्चारकर्मीमाथि भएका घटनामा प्रहरी प्रशासनकाले कुनै कारबाही अघि नबढाएको भन्दै पीडित पत्रकारले गुनासो गरेका छन् ।