सार्वजनिक सेवामा पनि सुगम बनाइँदै नरैनापुर

नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठक

नेपालगन्ज : बाँकेको कर्णाली उपनाम पाएको बघौडा क्षेत्रमा अहिले पुग्दा हुलाकी राजमार्ग, विद्युत र सञ्चार सेवाले सुगम क्षेत्र भएको अनुभूति हुन्छ । जिल्ला स्तरबाट पाइने सानो तिनो सार्वजनिक सेवा लिन सदरमुकाम नेपालगन्ज पुग्न ४४ किलोमिटरको यात्रा गर्दा होस् वा काम नसकेर राति बास बस्नु पर्ने अवस्थाले नरैनापुरबासीलाई यो क्षेत्र अझै विकट बनिरहेको छ ।
प्रशासनीक सेवाका हिसाबले पनि नरैनापुरलाई सुगम बनाउन गाउँपालिकाले पहल सुरु गरेको छ । सोमबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न सरकारसँग माग गरेको छ । बैठकले ती कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत नेपाल सरकारलाई लिखित रुपमा पत्राचार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । कार्यालयका लागि आवश्यक परेमा भवनको व्यवस्था भने गाउँपालिकाले गर्ने भनिएको छ ।
गाउँपालिका अध्यक्ष शाह भन्छन, ‘गाँउगाँउमा सिंहदरबार नाममा मात्र सिमित बन्यो । नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन । नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुरुप यी कार्यालय आवश्यक छ ।’
बघौडा क्षेत्रमा इलाका प्रशासन र छोटी भन्सार कार्यालय द्वन्द्वकालको बाहानामा नेपालगन्ज स्थानान्तरण गरिएका थिए । कार्यालय सञ्चालन गर्न पटक पटक आग्रह गर्दा पनि सरकारबाट बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ ।