एडभोकेसी फोरमद्वारा बालसुधार गृहमा कम्मल वितरण

नेपालगन्ज : एडभोकेसी फोरम नेपालले बाँकेको जयेन्दु बाल सुधार गृहलाई कम्मल वितरण गरेको छ ।
एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक वसन्त गौतमले बुधबार बालसुधार गृह प्रमुख विमला काउचा मगरलाई ३६ थान कम्मल (डवल न्यानो ब्लाङ्गकेट) र एक बण्डल पीफर्म हस्तान्तरण गरेका हुन् ।

न्यानो कपडा वितरण कार्यक्रममा युसेप नेपालका निर्देशक केशव सुवाल, लेखा अधिकृत विनिता हाडा, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी, बालसुधार गृहका वार्डेन मलखे सिंह, प्रसनी सूर्यलाल यादव लगायत सुधारगृहमा रहेका बालकहरुकोे उपस्थित रहेको थियो ।
बाल सुधार गृहमा एक वर्ष भन्दा बढी समय बसिसकेका कानूनी विवादमा परेका बालकलाई मात्र सरकारले सिरक डसना उपलब्ध गराउने ब्यवस्था छ । त्यो अवधि नपुगेका बालकले ओढ्ने सिरक र ओछ्याउने विस्तारा पाउँदैनन् । जाडो बढेसँगै बालकलाई बिस्ताराको समस्या थियो । बालसुधार गृहमा क्षमता भन्दा बढी बालक हुँदा बसाइमा समस्या परेको थियो । नयाँ भवन निर्माण भएसँगै केही राहत भए पनि बसाइँको उपयुक्त प्रबन्ध हुन नसक्दा कतिपय बालकहरु सिमित कपडामा भुइँमै सुत्नु परेको थियो ।