डुडुवामा ६ वर्षपछि पहिलो पटक ५० लाखका दरले वडाध्यक्षका १०० योजना

डुडुवा गाउँपालिकाको १२ औं सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै अध्यक्ष नरेन्द्र चौधरी । फोटो सौजन्य : डुडुवा गाउँपालिका

रमेशकुमार यादव । वनकट्टी (बाँके)
बाँकेको डुडुवा गाउँपालिकामा ६ वर्षयता पहिलो पटक वडाध्यक्षले जनही ५० लाख रुपैयाँका दरले १०० वटा योजना ल्याएका छन् ।
गाउँपालिकाको सोमबारदेखि सुरु भएको १२औं गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गरेको कूल बजेट ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँमध्ये साढे चार प्रतिशत (४.५९ प्रतिशत) अर्थात तीन करोड रुपैयाँबाट ६ वटा वडाले एक सय वटा योजना छनोट गरेका छन् । सबै वडाको सिलिङ जनही ५० लाख भए पनि वडाका योजना भने कम्तीमा १३ देखि बढीमा २७ वटा छन् । वडा नं. १ ले १३, वडा नं. २ ले १५, वडा नं. ३ ले २७, वडा नं. ४ ले १२, वडा नं. ५ ले १५ र वडा नं. ६ ले १८ वटा योजना ल्याएका छन् ।


अघिल्लो ५ वर्षमा पूर्वाधार विकासतर्फको सबै बजेट गाउँपालिका तहमा राखेर एकलौटी रुपमा काम गरेका अध्यक्ष चौधरीले यसपटक भने कूल बजेट ८३ प्रतिशत (८२.८१ प्रतिशत) आफैले राखेका छन् । पूर्वाधार विकास गाउँपालिकातर्फ १४ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन गाउँपालिकाको कूल बजेटको २२.१३ प्रतिशत हिस्सा गाउँपालिका तहमा छ । यो रकममा गाउँपालिका अध्यक्षको मनोमानी चल्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आर्थिक विकासमा १५ करोड, सामाजिक विकासमा ५ करोड ६५ लाख, वन, वातावरण र सेवा प्रवाहमा १ करोड ८४ लाख, पूर्वाधार विकास वडातर्फ ३ करोड र पूर्वाधार विकास गाउँपालिकातर्फ १४ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । सोमबार गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत भए पनि समय अभावका कारण दफावार छलफल भने हुन नपाएकाले मंगलबार दिउँसो पनि सभा जारी रहने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद्, वन तथा वातावरण, विकास निमार्ण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।