बाँकेका पत्रकार नरेन्द्रजंग पिटरलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

नेपालगन्ज : नेपाल पत्रकार महासंघले बाँकेका बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान दिएको छ ।
महासंघको शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको वार्षिक साधारणसभाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी हुन् ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। सो पुरस्कारको राशि एक लाखसहित सम्मानपत्र रहेको छ। साधारणसभा २६ जना पत्रकार तथा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो।
राष्ट्रपति भण्डारीले साधारणसभाको उद्घाटन गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी थिइन् ।
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन्। उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन्।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडा, नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिद्वय हरिहर विरही र किशोर नेपाल, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए। शनिबारसम्म सञ्चालन हुने साधारणसभामा ७५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ ।