गठबन्धनबाटै सरकार बन्छ : नेता महरा

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धनकै दलबाट सरकार बन्ने बताएका छन् ।
नेपाल प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महराले सरकार गठनबारे अरु विकल्पमा छलफल भए पनि गठबन्धनकै सरकार बन्ने बताए । उनले भने, ‘एमालेसँग पनि सरकार गठनबारे छलफल भएको छ तर गठबन्धनकै सरकार बन्नेमा म विश्वस्त छु । आइतबारसम्म सहमति जुट्छ ।’ सत्तागठबन्धनबाटै आलोपालो सरकार बनाउनेबारे कसैको विमति नभए पनि पहिले कसको नेतृत्वमा बनाउने विषयमा सहमति भएको छैन । नेपाली कांग्रेसभित्र देउवाकै नेतृत्वमा पहिलो सरकार बनाउने दवाब रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिले आफू प्रधानमन्त्री बन्ने प्रयत्नमा छन् ।