नेपाल-भारतका सरोकारवालाको मानव बेचविखनविरुद्ध मिलेर काम गर्ने प्रतिबद्धता

मानव बेचविखनबिरुद्ध नेपालगन्जमा आयोजित कार्यशालामा नेपाल-भारतका सरोकारवालाहरु

नेपालगन्ज : मानव बेचविखन रोकथाम र नियन्त्रण गर्न नेपाल–भारतका सरोकारवालाले मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
माइती नेपाल नेपालगन्जले बिहीबार नेपालगन्जमा आयोजना गरेको क्रस बौर्डर वर्कशपमा सहभागी दुबै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिले मानव बेचविखनबिरुद्ध साझा प्रतिबद्धता जनाएका हुन् ।
महिला, बालबालिकाको बेचबिखन दुबै देशको साझा समस्या भए पनि पीडितलाई तत्कालै उद्दार गर्न र घटनामा संलग्न अभियुक्तलाई सम्बन्धित देशमा सुम्पेर कारबाही गर्न दुबै देशबीच कानुनी व्यवस्था गर्न पनि सरोकारवालाले सरकारको ध्यानाकर्षण गरेका थिए । उनीहरुले साझा टास्क फोर्स बनाएर पनि संयुक्त रुपमा प्रभावकारी काम गर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट र भारतको सशस्त्र सीमा बल (एसएसबी) ४२ नं. बटालियनका कमाण्डेड तपनकुमार दास लगायतले दुबै देशका साझा समस्याको रुपमा रहेको बेचविखनको मुद्दामा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यशालामा माइती नेपालका नेपालगन्ज संयोजक केशव कोइरालाले नेपालमा मानव बेचबिखनको अवस्था र एसएसबीकी सरिता कुमारीले भारतीय पक्षबाट मानव बेचविखनबिरुद्ध गरेको कार्यबारे जानकारी गराएका थिए ।
कार्यक्रममा भारतको बहराइच प्रहरीका एसपी अशोककुमार सिंह, नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख शोभा शाह, शाखाका महिला विकास अधिकृत मञ्जु पाण्डे, साथी संस्थाकी सरस्वती शर्मा, अभियान नेपालकी कमला पन्त, शक्ति समूहकी निर्मला पौडेल, बरिष्ठ पत्रकार कृष्ण अधिकारी, सञ्चारिका समूह बाँकेका अध्यक्ष रुपनी जीएम, भारत उत्तराञ्चलका जनक चन्द, मानव बेचविखनविरुद्धका अभियन्ता तेजसिंह भण्डारी, शान्ति पुनस्र्थापना गृहका निर्मल, लगायतले मानव बेचविखनका विरुद्ध दुबै देशका सरोकारवालाको साझा प्रयास हुनुपर्नेमा जोड दिएका थिए ।
जिल्ला मानव बेचविखनबिरुद्धको जिल्ला समितिका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य सचिव तथा फोकल पर्सन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।