२१ वर्षमा नेपालगन्ज नाकाबाट माइती नेपालद्वारा झन्डै ५ हजारको उद्दार

नेपालगन्ज : माइती नेपालले २१ वर्षको अवधिमा नेपालगन्ज नाकाबाट झन्डै पाँच हजार चार हजार जनालाई उद्दार गरेको छ ।
माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सन् २००२ देखि २०२२ सम्म चार हजार ७५० महिला र बालबालिकाको उद्दार गरेको जानकारी दिए । सन् २०२२ मा मात्र ५२७ जनालाई उद्दार गरेको थियो । उद्दार गरिएको यो संख्या २१ वर्षमा दोस्रो पटक धेरै हो । यसअघि सन् २०१६ मा ५७८ वनाको उद्दार गरेको थियो । ‘घरपरिवारको सल्लाह बिना रोजगारी, विवाह गरेर, घुम्न जाने बाहानामा भारत जान लागेकाहरुलाई हामीले जमुनाहा नाकाबाट फिर्ता गरेका हौं’, कोइरालाले भने, ‘यसरी जानेहरु बेचबिखनमा पर्ने उच्च जोखिममा हुन्छन् । त्यसैले हामीले परिवारको जिम्मा लगाउने गरेका छौं ।’
२१ वर्षको अवधिमा माइती नेपालमा खोजतलासका लागि निवेदन दिएकामध्ये अझै पनि ५ हजार ९३४ जना फेला पर्न सकेका छैनन् । एक हजार ६३८ जना मात्र फेला परेका छन् । ‘हराएको भनेर खोजलास गर्न भनेर हामीलाई निवेदन दिन्छन् । भेटिएको खबर नै गर्दैनन् । कतिपयको त मोबाइल नंं. पनि परिवर्तन भइसकेको हुन्छ ।’ खोजतलासको निवेदनमा अधिकांश महिला र बालबालिका हुने गरेका छन् ।
सन् २०२२ मा माइती नेपालले बेचबिखनका ५ वटा मुद्दा दर्ता गरेको छ । भारतको दिल्लीस्थित जीबी रोड, कलकत्ताको सोनागाछी, मुम्बइ, मेरठको कवाडी बजार र आगराको काश्मिरी बजारलगायतका भारतीय वेश्यालयमा नेपाली किशोरी र महिला बेचिएर नारकीय जीवन निर्वाह गरिरहेको माइती नेपालले जनाएको छ ।