नेपालगन्जमा मनाइयो नेपाली टोपी दिवस

नेपालगन्ज : बाँकेमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै विविध कार्यक्रम गरेर आइतबार राष्ट्रिय पोसाक तथा नेपाली टोपी दिवस मनाएका छन् ।
नेपालगन्ज साइक्लिङ क्लबले नेपाली टोपी दिवसको अवसरमा साइकल यात्रीले टोपी लगाएर नगर परिक्रममा गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका गेटबाट साइकल यात्रा सुरु गरेर वीपी चौक, धम्बोजी चोक, सेतु विक चौक, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेटसम्म साइकल यात्रा गर्दै मनाइएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए । कार्यक्रममा नेपालगन्जको घरबारीटोलमा रहेको पाल्पाली ढाकाटोपी पसलका सञ्चालक बिष्णु कँडेलले सबै साइकल यात्रीलाई एक एक थान ढाकाटोपी उपहार दिएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।
त्यसैगरी बास नेपालगन्ज बाँके शाखाले पनि आइतबार नेपालगन्जको वीपी चोकमा नेपाली टोपी दिवस मनाएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपाली टोपीको महत्वबारे धारणा राखेका थिए ।