रुपैडिया जाँदा नेपालमा शाही कालको झल्को ! एसएसबीले लगाउँछ, घण्टौं लाइन
रुपैडिया (भारत) : के तपाई सामान किन्न रुपैडिया जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ भने घण्टौं लाइनमा लाग्ने धैर्यता नगुमाउनु होला ।
हजुरबुबाको लागि औषधि किन्न बुधबार रुपैडिया गएर फर्कँदै गरेका बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँका कमल खनाललाई भारत पस्दै गर्दा एसएसबीले शरीर पूरै चेकजाँच गयो । नागरिकता माग्दै रोक्यो । नभएपछि फर्काउन खोज्यो । डा.ले दिएको पर्चा देखाएर उनी बल्लतल्ल भारत प्रवेश गरे । नागरिकता नबोकेका र मास्क नलगाएका व्यक्ति उनकै अगाडिबाट फर्काइए । कतिले स्कुले पोशाकमै रहेका बालबालिकाबाट मास्क किनेर लगाएर फेरि भारत प्रवेशको प्रयास गरे । खनालले भने, ‘रुपैडियाबाट फर्कँदा पनि एसएसबीले फेरि चेकजाँच गयो । मोटरसाइकल, स्कुटर, पाइडल रिक्साको लामै लाइन थियो । स्कुटरका डिग्गी र रिक्सा खोलेर सबै देखाउनु परेको थियो ।’
एसएसबीले भारत जाँदा र आउँदा गरेको चेकजाँचलाई नेपालीहरुले शाहीकालमा नेपालका सुरक्षाकर्मीले चेकजाँच गरेको झल्को दिएको बताइरहेका थिए । कति यति धेरै झन्झट ब्यहोरेर सामान किन्न नजाने भन्दै थिए । नेपाल भारत खुला सीमामा एसएसबीले गरेको कडा चेकजाँचको भारतीय व्यापारीले पनि विरोध गरिरहेका छन् । रुपैडियाका कपडा व्यवसायी इजा इमाम रिजवी त एसएसबीले चेकिङका नाममा ज्यादती गरिरहेको बताउँछन् ।