सुशील कोइराला क्यान्सर अस्पतालमा लिन्याक मेसिन सञ्चालन हुँदै

जयपति ढकाल । खजुरा
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन सञ्चालन हुने भएको छ।
अस्पतालका कार्यककारी निर्देशक डा निरज भट्टराईका अनुसार बहुप्रतिक्षित लिन्याक मेसिन आएपछि रेडिएसन सेवा सुरु भएसँगै अब क्यान्सरको सबै उपचार खजुरामा सम्भव हुने भएको छ। यस्तो सेवा अब चितवनबाट पश्चिम क्षेत्रमा पहिलो पटक सुरु हुँदैछ ।
कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा। भट्टराईका अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन हो । यो रेडियोथेरापीको लागि अति आवश्यक हुन्छ । यो मेसिन सञ्चालनमा आएपछि क्यान्सरका बिरामीले सेकाइको लागि भारत या काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको सधैंको लागि अन्त्य हुने डा।भट्टराईले बताए।
‘यो मेसिन सुशील कोइराला अस्पतालमा संचालनमा आउनाले क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई, अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने भएको छ,अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाई यहींबाट हुने भएको छ’ उनले भने ।
मेसिन नेपाल सरकारको अनुदानमा प्राप्त भएको हो ।
उनले आगामी दिनमा बिरामीहरुलाई अस्पतालसम्म आइपुग्न सहज वातावरण बनाउन अस्पतालले गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्ने, थप एम्बुलेन्स लगायतका व्यवस्था गर्ने र क्यान्सरसँग सम्बन्धी जचेतानामूलक कार्यक्रम गर्ने जनाएको छ। हाल टाउको, घाँटी, मुटु, पोक्सो, रक्तनली सम्बन्धी क्यान्सरको उपचारका साथै मेडिकल अङ्कोलोजी, सिटीस्क्यानको माध्यमबाट गरिने बायोप्सी, तनाव लगायका अन्य समस्याको उपचार पनि अस्पतालमा उपलब्ध रहेको छ ।
आइसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा।निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शैय्याको ‘पोजिटिभ प्रेसर’ आइसीयू सञ्चालनमा ल्याइने बताए । आइसीयू कक्ष निर्माणको सबै काम पूरा भइसकेकाले दक्ष जनशक्ति व्यवस्था गरेर सञ्चालनमा ल्याइनेछ ।
आइसीयूका लागि कर्मचारीलाई तालिम दिएपश्चात् सञ्चालनमा आउनेछ । अहिले तयार गरिएको आइसीयू सञ्चालनमा आएको १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । अस्पतालमा दिनदिनै बिरामीको सङ्ख्या बढ्दै जाँदा दुई जना मेडिकल अधिकृत थप्न पहल भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।