हान बाँकेको अध्यक्षमा खनाल निर्वाचित

नेपालगन्ज : होटल अर्गनाइजेशन नेपाल (हान) बाँके च्याप्टरको अध्यक्षमा खनाल के होटलेका सञ्चालक दिवाकर खनाल निर्वाचित भएका छन् । खनालले कार्यवाहक अध्यक्ष भएर काम गरेका थिए ।
हान बाँके च्याप्टरको शनिबार नेपालगन्जमा सम्पन्न प्रथम जिल्ला अधिवेशन तथा साधारणसभाबाट अध्यक्षमा खनालसहित सिंगो कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । वरिष्ठ उपाध्यक्षमा होटल सिद्धार्थ भ्यूका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने, उपाध्यक्षमा सिटी प्यालेसका लोकेन्द्र अर्याल, महासचिवमा होटल अतिथिका नरबहादुर ओली, कोषाध्यक्षमा मेरो प्लानेटका डा.ओमप्रकाश मिश्रा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सोल्टीका राजविक्रम शाह, ग्यालेक्सी दरबारका तेजप्रसाद रेग्मी, होटल म्याक्सका मनोज केसी, कल्पतरुका दीपु गुप्ता, सार्मथ्य इनका सरोजकुमार चन्द र निर्वतमान अध्यक्ष समेत रहेका स्नेहा होटलका अशित शम्शेर राणा रहेका छन् । साधारणसभाले विधान संशोधन गरेर संस्थाका बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानको व्यवस्था गरेको छ । यस प्रथम जिल्ला अधिवेशनको उदघाटन होटल अर्गनाइजेशन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनायक शाहले गरेका थिए ।