लायन्स स्वास्थ्य शिविर : ११० जनाको कान र १३५ जनाको आँखा परीक्षण

नेपालगन्ज : लायन्स क्लबले आयोजना गरेको स्वास्थ्य शिविरमा नेपालगन्जका २४५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा बुधबार लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले नेपालगन्ज उपमहानगरपालिका २० थपुवामा आयोजना गरेको शिविरमा ११० जनाको कानको परीक्षण र १३५ जनाको आँखाको परीक्षण गरिएको हो ।
लायन्सका डिस्ट्रिक्ट एडभाइजर उमा थापा मगरका अनुसार निःशुल्क परीक्षण र निःशुल्क औषधि वितरण गरिएको शिविरमा १५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाएको र ६ जनाको कानको अप्रेशन गर्नुपर्ने देखिएको छ ।

यसअघि शिविरको उद्घाटन फस्ट भिडिजि लायन मुकुट ढकालले गरेका थिए । क्लबका अध्यक्ष विष्णु खनालको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा निर्वतमान डिस्ट्रिक्ट गर्भनर मधुसुदन शर्मा र पूर्व डिस्ट्रिक्ट गर्भनर शेम शाक्यले समाजको कुना कुनामा लुकेका तर पहुँचको अभावमा सार्वजनिक सेवा लिनबाट वञ्चित समुदायलाई लक्षित गरेर लायन्स क्लबले सामाजिक सेवाका अनुकरणीय कामहरु गरिरहेको भन्दै क्लबको प्र्रशंशा गरेका थिए ।