थारु बस्तीमा माघीको रौनकता

नेपालगन्ज : पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर र सुर्खेतलगायतका थारु बाहुल्य गाउँबस्तीमा माघी पर्वको रौनकता सुरु भएको छ ।
माघ लागेपछि गाउँको नयाँ अगुवा (भल्मन्सा, मतहवा, बरघर)चुन्ने काम हुन्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्ष भरिकालागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाह लगायतका विषयमा छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा थारुले मनाउँछन् । माघीको अवसरमा पश्चिम नेपालका धेरै स्थानमा मेला र महोत्सव लाग्ने गर्छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३ वनघुस्रीमा चार दिने भुवरभवानी माघी मेला सुरु भएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शनिबार मेलाको उद्घाटन गरेका हुन् । भुवरभवानी मन्दिर क्षेत्रमा झन्डै पाँच दशकदेखि माघी मेला लाग्दै आएको छ । मेलामा खुला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ ।
माघे संक्रान्ति पर्व विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । माघीको दिन तिलको लड्डु, चाकु, घिउ, तरुल, शखरखण्ड, खिचडी खाने प्रचलन छ ।