इलाका प्रशासन नरैनापुर माघभित्रै स्थानान्तरण हुँदै

नेपालगन्ज : नरैनापुरवासीका लागि खुसीको खबर छ । दश वर्षे सशस्त्र द्वन्द्वको कारण देखाउँदै नेपालगन्ज स्थानान्तरण गरिएको नरैनापुर इलाका प्रशासन कार्यालय यही माघ महिनाभित्रै पुनःस्थापना गर्ने तयारी भएको छ । अहिले इलाका प्रशासनको काम जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाटै हुने गरेको छ । नरैनापुर गाउँपालिकाबासी ४५ किलोमिटर लामोे यात्रा गरेर नागरिकता लगायतका प्रशासनिकलगायत सेवा लिन नेपालगन्ज आउन बाध्य छन् ।
केही दिन अघि नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन पुनःस्थापना माग गर्दै आवश्यक परे कार्यालयको लागि भवनको व्यवस्था गर्ने निर्णय गरेको थियो । गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले इप्रका सञ्चालनका लागि नरैनापुर ४ मा ५ कोठे भवन भाडामा लिएको बताए ।
लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपाल प्रहरीका बाँके प्रमुख सन्तोषसिंह राठौंर, सशस्त्र प्रहरी बल बाँकेका प्रमुख जनक बस्नेत, अनुसन्धान विभागका बाँके प्रमुखसहित सुरक्षा अधिकारीले भाडाको सो भवनमा कार्यालय सञ्चालनको अवस्थाबारे सोमबार संयुक्त रुपमा निरीक्षण गरेको थियो ।
स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मत सम्भारपछि कार्यालय स्थापना हुने बताउँदै सानो कामको लागि नेपालगन्ज धाउनुपर्ने नरैनापुरबासीको बाध्यताको अन्त्य हुने बताइन् । प्रजिअ खत्रीले पनि कार्यालय राख्नका लागि भवन उपयुक्त भएकाले माघ महिनाभित्रै सञ्चालनमा आउने बताए ।